पाँच वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण



बाँके । बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज-गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन ।

विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाख रुपैयाँमा चार लेन सडक निर्माणको जिम्मा पाएको थियो ।

ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा आफूहरुले दुःख पाएको स्थानीयको भनाइ छ । सम्झौता अनुसार कम्पनीले जिल्लाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको चार लेन सडक निर्माण गर्नुपर्ने थियो ।

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि अझै सडक अपूरो छ । विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माण अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाको भनाइ छ ।

सडक निर्माणको माग गर्दै स्थानीयले पटक-पटक आन्दोलन गर्दै आएका छन् ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामील निर्माण ढिलाइ भए पनि ९० प्रतिशत काम पूरा भएको दाबी गरे । उनले यो वर्षसम्म पनि काम पूरा नभए ठेकेदार कम्पनीलाई कारबाहीस्वरुप कालोसूचीमा राखिने बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएका छन् ।


क्लिकमान्डु