नवलपरासी पश्चिमको विकासका लागि विनोद चौधरीद्वारा १५ आयोजना प्रस्ताव



काठमाडौं । नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विनोद चौधरीले जिल्लाको विकासका लागि विभिन्न १५ आयोजनाको प्रस्ताव अघि सारेका छन् ।

चौधरीले आफू निर्वाचित जिल्लामा निर्वाचनको क्रममा जनता सामु गरेका प्रतिबद्धता पूरा गर्ने भन्दै विभिन्न १५ आयोजनाको प्रस्ताव अघि सारेका छन् ।

चौधरीले अघि सारेको प्रस्तावमा नवलपरासी पश्चिम–१ को विकासका लागि अध्ययनमार्फत गौरवका आयोजनाहरु छानेको बताइएको छ । यी आयोजनाहरुका लागि संघ र प्रदेश सरकारसँग समन्वयमार्फत बजेट सुनिश्चित गरि कार्यान्वयनको प्रक्रिया अघि बढाइने छ ।

प्रस्ताव गरिएका विकासका आयोजनाहरुमा बर्दघाट नगरपालिकालाई अन्य स्थानीय तहसँग जोड्ने चक्रपथ निर्माण, केरा खेती प्रबद्र्धन गर्ने, कृषि बजार केन्द्र स्थापना गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न सीप विकास केन्द्र बनाउने, पशुपालनमा कृषकलाई आकर्ष गर्नेजस्ता योजनाहरु रहेका छन् ।

सँगै आफ्नो निर्वाचन क्षेत्रमा उच्च शिक्षा केन्द्रको रुपमा विकास गर्ने, प्रकृतिमैत्री पर्वतीय पर्यटनको विकास गर्ने, खेलकुद विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, सरसफाई तथा हरियाली प्रवद्र्धन गर्ने, गण्डन नहर सफाई अभियान सञ्चालन गर्ने, मत्स्यपालन क्षेत्रको रुपमा यो ठाउँको विकास गर्ने, सीमावर्ती पर्यटनको विकास तथा प्रबद्र्धन गर्ने, बुद्ध सर्किट निर्माण गर्ने लगायतका आयोजनाहरु रहेका छन् ।

चौधरी निर्वाचित नवलपरासी पश्चिम–१ मा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र सरावल गाउँपालिका पर्दछन् ।


क्लिकमान्डु