बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिनसक्ने व्यवस्था गर्न माग



काठमाडौं । बीमा कम्पनीका शाखा प्रमुखहरुले बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिनसक्ने व्यवस्था गर्न माग गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरुसँग बीमा सम्बन्धी समसामयिक विषयमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका शाखा कार्यालयका प्रमुखहरुले केही हदसम्म बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिनसक्ने व्यवस्था हुनुपर्ने बताएका हुन् ।

कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्ने र बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु निरन्तररुपमा आयोजना गर्नुपर्ने विचार प्रमुखहरुले राखेका थिए ।

बीमा व्यवसायमा देखिएका अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि प्राधिकरणले निरीक्षण एवम् नियमनमा जोड दिनुपर्ने र बीमा अभिकर्ताका लागि समेत तालिमको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न, शाखा कार्यालयहरुलाई सुविधा सम्पन्न बनाउन र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरुबाट नै दिने व्यवस्था गर्न बीमा कम्पनीहरुलाई प्राधिकरणबाट निर्देशन दिइएको बताए ।

प्राधिकरणले माघ १३ गते शुक्रबार नुवाकोटको सातविसेस्थित सुन्दरा माध्यमिक विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई बीमा सम्बन्धी विषयमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षकहरु तथा कक्षा १०, ११ र १२ का विद्यार्थीहरुको सहभागिता थियो ।

यस्तै, प्राधिकरणले नुवाकोटकै पञ्चकन्या गाउँपालिकामा माघ १२ गते विहिबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि तथा कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, कृषकहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा बीमालाई पनि समेट्ने र कृषि बीमाशुल्कमा गाउँपालिकाका तर्फबाट समेत अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बीमा दाबीका लागि कागजात जुटाउन समस्या पर्ने गरेको र दाबी भुक्तानीमा पनि ढिलाई हुने गरेको उल्लेख गर्दै बीमा दाबी भुक्तानी प्रक्रियालाई सरलीकरण गर्न आग्रह समेत गरे ।


क्लिकमान्डु