नेपाली नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालयमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्व सभापति रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।

सर्वोच्च अदालतले शुक्रबार फैसला गरेसँगै नागरिकताविहीन बनेका लामिछाने आइतबार बिहानै नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्तिको प्रकृया नगरेको भन्दै प्रकृया शुरु गर्नुपर्ने फैसला गरेको थियो ।

नागरिकता ऐन २०६३ अनुसार विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत रद्द हुने व्यवस्था भएपनि लामिछानेले रद्द भएकै नागरिकताको आधारमा नेपालमा काम काज गर्दै आएका थिए । सर्वोच्चले पुरानो नागरिकता बमोजिम भएका सबै कामकाज गैरकानूनी ठहर गर्दै लामिछानेले नागरिकता नियमावली बमोजिम पुन: नागरिकता प्राप्तिको प्रकृया शुरु गर्नु पर्ने फैसला गरेको थियो ।

नियमावली अनुसार पुन नागरिकता प्राप्त गर्न अटेर गर्दै आएका लामिछानेले सर्वोच्चको फैसलापछि जिल्ला प्रशासन कार्यालय पुगुर प्रमुख जिल्ला अधिकारीलाई अमेरिकी नागरिकता त्यागेको निस्सा दिँदै नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रकृया शुरु गरेका हुन् ।


क्लिकमान्डु