उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद पद खारेज



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको भन्दै सर्वोच्च अदालतले सांसद् पद खारेज गरिदिएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेका हुन् ।

इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुन:प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो । यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र नेपालको नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनी कानुनसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नरहेको सर्वोच्चको ठहर छ ।

गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

लामिछाने मंसिर ४ मा सम्मपन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट अत्याधिक मतसहित निर्वाचित भएका थिए ।


क्लिकमान्डु