अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनकः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७०औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताए । उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौति रहेको बताए ।

प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए । उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिवद्धता जनाए ।

उनले, ‘अहिले हामी विशिष्ट अवस्थामा छौँ । आर्थिक रुपले परिसूचकहरु त्यति राम्रो छैन । चिन्ताजनक छन् । यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जसलाई मैले चुनौतिको विषय बनेको छ । सरकारको पहिलो बैठक बस्दा नै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको छु । आगामी दिनमा तपाईहरुको सहकार्यबाट नै अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न ठूलो सहयोग मिल्नेछ । अहिले एकातिर निःशुल्क स्वास्थ्य सेवा दिने र स्तरीय स्वास्थ्य सेवा दिने झन्डै ३ सय बेडको अस्पताल बनाउने कुरा गर्नुभएको छ । सरकारको तर्फबाट जग्गा उपलब्ध गराउने कुरामा सरकारबाट पहल गर्ने विश्वास दिन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिवद्धता गरेको बताए ।


क्लिकमान्डु