कडाइ गरेपनि घटेन चकलेटको आयात, ६ महिनामा नेपालीले विदेशबाट किने डेढ अर्बको चकलेट



काठमाडौं । सरकारले उच्च आयात कारण तरलता अभाव भएको भन्दै विभिन्न चरणमा कडाइ गरेको थियो । सरकारले गत वर्षको पुस र माघ महिना गरी दुई चरणमा विभिन्न ४७ वटा वस्तुको आयातमा कडाइ गरेको थियो ।

नेपाल राष्ट्र बैंकले विलासिताको वस्तुभन्दै पहिलो चरणमा २० वटा र दोस्रो चरणमा २७ वटा वस्तु गरी ४७ वटा वस्तुको आयातमा शतप्रतिशत र ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र बैंकले कडाइ गरेकोमध्ये चकलेक पनि एक हो ।

सरकारले चकलेट आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । उक्त व्यवस्था हालै मात्रै खारेज गरेको छ । तर, सरकारले आयातमा कडाइ गरेपनि चकलेट आयातमा भने कुनै प्रभाव परेको देखिँदैन ।

भन्सार विभागको तथ्याङक्अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै करिब डेढ अर्बको चकलेट आयात गरेको देखाउँछ । गत साउनदेखि पुस मसान्तसम्ममा नेपालले १ अर्ब ३४ करोड २२ लाख ७१ हजार रुपैयाँको ३२ लाख ४७ हजार १८१ केजी चकलेट आयात गरेको छ । साथै, नेपालले उक्त आयातित चकलेटबाट १ अर्ब ५ करोड ११ लाख ४६ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

त्यस्तै, सरकारले गत वर्षको पुससम्ममा चकलेटको आयातमा कुनै कडाइ गरेको थिएन । विभागअनुसार गत वर्षको ६ महिनाको अवधिमा नेपालले १ अर्ब ४१ करोड ८७ लाख ४९ हजार रुपैयाँको ४४ लाख ३४ हजार ११९ केजी चकलेट आयात गरेको थियो । जसमा सरकारले ९२ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । उक्त तथ्याङ्क हेर्दा चकलेट आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गर्दासमेत उच्च आयात भएको स्पष्ट पार्दछ ।

पाँच वर्षमा १४ अर्बको आयातित चकलेट खपत

नेपालमा आन्तरिक चकलेट उत्पादक कम्पनीहरु छन् । तर, आयातित चकलेटसँग प्रतिस्पर्धा गर्न नसक्दा बजारमा विभिन्न देशबाट पैठरी गरेको चकलेटको दबदबाह छ । त्यस्तै, नेपालले ५ वर्षको अवधिमा १४ अर्बको १२ लाख २३ हजार रुपैयाँको ४ करोड ५८ लाख ३७ हजार ५८८ के चकलेट आयात गरेको छ । उक्त आयातित चकलेटबाट नेपालले ५ वर्षको अवधिमा ८ अर्ब १ करोड ८३ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले वार्षिक ३ अर्ब रुपैयाँ बराबरको चकलेट आयात गरी खपत गर्दै आएको तथ्याङ्कले उल्लेख गर्छ । नेपालले आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ५ करोड ३५ लाख ७१ हजार रुपैयाँको १ करोड ११ लाख ५२ हजार केजी, आव २०७५/७६ मा २ अर्ब ८६ करोड ६४ लाख ३७ हजार रुपैयाँको १ करोड १० लाख केजी र आव २०७६/७७ मा २ अर्ब २३ करोड ९० लाख २१ हजार रुपैयाँको ७५ लाख ५६ हजार ६८६ केजी चकलेट आयात गरेको थियो ।

त्यसैगरी, आव २०७७/७८ मा २ अर्ब ७० करोड ६४ लाख ४३ हजार रुपैयाँ र आव २०७८/७९ मा ३ अर्ब १३ करोड ५७ लाख ५१ हजार रुपैयाँको ८७ लाख ३१ हजार ३१८ केजी चकलेट आयात गरेको छ ।

कुन देशबाट कति आयात ?

नेपालले चकलेट सबैभन्दा बढी भारतबाट आयात गर्ने गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ८२ करोड २४ लाख ५० हजार रुपैयाँको मात्रै भारतबाट आयात गरेको तथ्याङ्कले देखाउँछ । भारतपछि टर्कीबाट १० करोड ८० लाख ५८ हजार रुपैयाँको आयात गरेको छ ।

त्यसैगरी, २ करोड ४९ लाख ३१ हजार रुपैयाँ भियतनामबाट, २ करोड ४९ लाख ३० हजार रुपैयाँको अमेरिकाबाट, ८७ लाख ५५ हजार रुपैयाँको बेलायतबाट, १ करोड ६२ लाख रुपैयाँको युएईबाट, १ करोड ७३ लाख ३७ हजार रुपैयाँको थाइल्यान्डबाट, २ करोड २२ लाख ७२ हजार रुपैयाँको स्वीजरल्यान्डबाट, २७ लाख ८८ हजार रुपैयाँको श्रीलंकाबाट र १० लाख २८ हजार रुपैयाँको कतारबाट आयात गरेको छ ।

त्यस्तै, २८ लाख ७६ हजार रुपैयाँको फिलिपिन्सबाट, ६३ लाख ४७ हजार रुपैयाँको नट स्पेसिफाइड, ७ करोड २ लाख २७ हजार रुपैयाँको नेदरल्यान्डबाट, ७ करोड १५ लाख ७१ हजार रुपैयाँको मलेसियाबाट, ६८ लाख ९९ हजार रुपैयाँको दक्षिण कोरियाबाट, ५६ करोड ९७ लाख रुपैयाँको इटलीबाट, १ करोड १८ लाख ५३ हजार रुपैयाँको इन्डोनेसियाबाट, ३१ लाख ५७ हजार रुपैयाँको जर्मनीबाट, ५८ लाख ४२ हजार रुपैयाँको फ्रान्सबाट, ७ करोड ६६ हजार रुपैयाँको चीनबाट, ३ करोड २१ लाख ३९ हजार रुपैयाँको बंगलादेशबाट र अष्ट्रेलियाबाट ५४ लाख ४३ हजार रुपैयाँको चकलेट आयात गरेको छ ।


क्लिकमान्डु