ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नु पर्छ: अर्थमन्त्री



काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नु पर्ने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले अहिले बैकिङ प्रणालीमा तरलता अभाव रहेको उल्लेख गरे ।

अर्थतन्त्र चलायमान बनाउन आर्थिक वृद्धि आवश्यक रहेकोभन्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सबैको पहल आवश्यक रहेको बताए । उनले अर्थतन्त्र जोगाउनका लागि खर्च कटौती गर्नुपर्ने उल्लेख गर्दै सबै निकाय मितव्ययी हुनुपर्ने बताए ।

सरकार भरखर ड्राइभिङ सिटमा बसेको भन्दै मन्त्री पौडेलले गाडीले गती लिन समय लाग्ने तर्क गरे । ‘सरकार भरखर ड्राइभिङ सिटमा बसेको छ । केही समयपछि यसले गति लिन्छ’ उनले भने ।

उनले राष्ट्रिय वाणिज्य बैंकलाई नाफामा मात्रै ध्यान नदिन आग्रह गरे । ‘सरकारको लगानी रहेको बैंकले नाफामा मात्रै ध्यान दिनु हुँदैन,’ उनले भने, ‘नाफाभन्दा पनि गुणस्तरीय सेवा दिनु । सेवा प्रवाह अन्य बैंकको तुलनामा प्रभावकारी बनाउनू ।’

मन्त्री पौडेलले सरकारी बैंकलाई कसरी गुणस्तरीय सेवा, तल्लो तहका जनतामा कसरी पुर्याउने भन्नेमा छलफल आवश्यक रहेको बताए ।


क्लिकमान्डु