प्रशासनले बन्द गरिदियो भैरहवाको ‘जेल रेष्टुरेण्ट’



भैरहवा । भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ । त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ ।

देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । उनले स्थानीय मिडियाबाट सो रेष्टुरेण्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको बताए ।

फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो । सहायक प्रजिअ अर्यालले रेष्टुरेण्ट बन्द गर्न लगाइ आज जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताए । उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने जानकारी दिए ।


क्लिकमान्डु