टाइगर प्यालेस रिसोर्टलाई सरकारी जग्गामा बनेका संरचना हटाउन अदालतको आदेश



काठमाडौं । रुपन्देही जिल्ला अदालतले तिलोत्तमामा बनेको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टलाई सार्वजनिक जग्गा खाली गर्न र त्यहाँ बनेका संरचना हटाउन आदेश दिएको छ ।

न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा मिचेर बनाएको संरचना खाली गर्न आदेश दिएका हुन् । उक्त रिसोर्टले १० कठ्ठा १८ धुर जग्गा मिचेर संरचना बनाएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै लुम्बिनी नलकुप जल उपभोक्ता समितिका अध्यक्ष थानेश्वर घिमिरेले मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको बिहीबार फैसला भएको हो ।

सिल्भर हेरिटेज र टाइगर वान प्रा.लिको नाममा साविकको टिकुलीगढ– ९ ‘घ’ अन्तर्गतका ३८ वटा कित्ता र साविकको मधवलिया–५ ‘ख’ अन्तर्गतका तीन वटा कित्ताको जग्गामा निर्माण भएका संरचना हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा राख्न अदालतले आदेश दिएको छ ।

होटलले कित्ता नम्बर १२०, १४८, १५२, १९० र ७३ को जग्गा मिचेर संरचना बनाएको छ । होटलले सार्वजनिक जग्गा मिचेर स्वीमिङ पुल र क्यासिनो बनाएको छ ।

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले तिलोत्तमामा २०७४ सालदेखि रिसोर्ट सञ्चालनमा ल्याएको छ । १५ बिगाह क्षेत्रफलमा रहेको रिसोर्टले सरकारी र सार्वजनिक जग्गा मिचेर विभिन्न संरचना स्थानीयको भनाइ छ ।


क्लिकमान्डु