पश्चिम सेती आयोजनाको प्रतिकुल विचार र क्रियाकलापप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पश्चिम सेती जलविद्युत परियोजना र सेती नदी-६ जलविद्युत परियोजनाको प्रतिकूल हुने गरी विभिन्न पक्षबाट व्यक्त विचार र क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बहुप्रतिक्षित आयोजनाको सफल कार्यान्वयनमा साथ र सहयोग हुनुपर्नेमा कतिपय पक्षबाट यस आयोजनाको प्रतिकूल हुने गरी व्यक्त विचार र क्रियाकलाप प्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विज्ञप्ति जारी गर्दै २०७९ माघ ४ गते नेपाल सरकार, लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसीबीच पश्चिम सेती जलविद्युत परियोजना र सेती नदी – ६ जलविद्युत परियोजना विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएकोमा सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट खुशी व्यक्त गर्दै यस परियोजना कार्यान्वयन हुँदा विकासका दृष्टिले पिछडिएको सुदूरपश्चिम प्रदेश आर्थिक तथा सामाजिक विकासको मूलप्रवाहमा प्रवेश गर्नुका साथै नेपालमा उत्पादित विद्युत निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरण गर्ने मार्ग प्रशस्त हुने विश्वास लिएका छन् ।

यस जलविद्युत आयोजनाको विकासका लागि आवश्यक सहयोग, समन्वय र साझेदारीका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको रावलले जनाएका छन् ।

‘राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको यस बहुप्रतिक्षित आयोजनाको सफल कार्यान्वयनमा साथ र सहयोग हुनुपर्नेमा कतिपय पक्षबाट यस आयोजनाको प्रतिकूल हुने गरी व्यक्त विचार र क्रियाकलाप प्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

उनले सुदूरपश्चिम प्रदेशका नागरिक र मुलुकको समृद्धिसँग जोडिएको यस महत्वपूर्ण परियोजना कार्यान्वयनमा आ-आफ्ना क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन् । साथै समझदारीपत्र अनुसार परियोजना विकास र शीघ्र कार्यान्वयनको लागि उनले नेपाल सरकारसँग अनुरोध गरेका छन् ।


क्लिकमान्डु