पुसमा साढे ६५ हजार युवा विदेशिए, मलसियामा मात्रै २० हजार बढी



काठमाडौं । पुस महिनामा करिब साढे ६५ हजार युवा वैदेशिक रोजगारीको खोजीमा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागअनुसार पुस महिनामा विश्वका १२० वटा देशमा रोजगारीको खोजीमा ६५ हजार ४६४ जना युवा विदेशिएको जनाएको छ।

पुस महिनामा नयाँ श्रम स्वीकृति लिई ३८ हजार ८६४ जना र पुनः श्रम स्वीकृति लिई २६ हजार ६०० जना युवा विदेशिएका छन् । गत मंसिरमा ६८ हजार ५६४ जना विदेशिएका थिए । जसमा मंसिर महिनामा ४० हजार ४४ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने २८ हजार ५२० जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको तथ्याङ्क हेर्दा मासिक ६० हजारभन्दा बढी युवाहरु रोजगारीका लागि विदेशिएका देखिन्छन् ।

विदेशिएकामध्ये अधिकांश युवाहरुको आकर्षक गन्तव्य मलेसिया बनेको छ । पुस महिनामा ६५ हजार नेपाली विदेशिँदा २० हजार ३३९ जना मात्रै मलेसिया पुगेका छन् । विभागको तथ्याङ्अनुसार पुसमा १६ हजार ७५५ जनाले मात्रै नयाँ श्रम स्वीकृति लिएका छन् । बाँकी ३ हजार ५८४ जनाले पुनः श्रम स्वीकृति लिई मलेसिया पुगेका छन् ।

मलेसियापछि नेपालीहरुको अर्को आकर्षक गन्तव्य कतार बनेको छ । पुसमा कतारमा १३ हजार ६६ जना नेपाली विदेशिएका छन् । कतारमा पुस महिनामा नयाँ श्रम स्वीकृति लिई विदेशिएका संख्या भने न्यून देखिन्छ । पुसमा १० हजार ५६० जनाले पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् भने २५ सय ६ जनाले मात्रै नयाँ श्रम स्वीकृति लिएका छन् ।

पुसमा साउदी अरेबियामा ११ हजार ६२७ जना र युएईमा ९ हजार २७ जना, कुवेतमा ३ हजार ८८९ जना, बहराइन ६६२ जना र ओमनामा ४५८ जना नेपाली रोजगारीको खोजीमा पुगेका छन् । त्यस्तै, पछिल्ला दिनहरुमा युरोपका विभिन्न देशहरुमा जानेको संख्या बढ्दो छ । पुसमा पनि उल्लेख संख्यामा युरोपका विभिन्न देशमा नेपालीहरु पुगेका छन् ।

त्यसैगरी, पुसमा क्रोसियामा ६९७ जना, साइप्रसमा ३३० जना, जापानमा ७७६ जना, पोल्यान्डमा ७५१ जना, माल्दििभ्समा ३७९ जना, मरिससमा १६६ जना, कोरियामा १२ सय २९ जना, रोमनियामा ४७७ जना, सर्बियामा १० जना र बेलायतमा १८६ जना नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् ।


क्लिकमान्डु