पुससम्म आन्तरिक राजस्व विभागले उठायो २ खर्ब २२ अर्ब कर, लक्ष्य भन्दा २१ प्रतिशत कम



काठमाडौं । आयकरको ४० प्रतिशत किस्ता उठ्ने पुस मसान्तमा समेत लक्ष्य अनुसार राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ ।

विभागले पुस महिनामा लक्ष्यको ६७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ । पुसमा १ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले शनिबार बेलुकासम्म ७१ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ । गत वर्ष पुसमा विभागले ७० अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अन्तःशुल्क, मुल्य अभिवृद्धि कर (मुअकर) र आयकर लक्ष्य भन्दा निकै कम संकलन हुँदा समग्र राजस्व लक्ष्य प्रभावित भएको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनाली शनिबार राती १२ बजेसम्मको हिसाब गणना गर्दा पुसमा करिब ७२ अर्ब रुपैयाँ राजस्व संकलन हुने बताउँछन् ।

‘विगतका महिनाहरुमा गत वर्ष बराबर पनि राजस्व संकलन भइरहेको थिएन्, पुसमा हामीले गत वर्ष बराबर राजस्व उठाएका छौं,’ मैनालीले भने,‘आगामी दिनमा लक्ष्य अनुसार राजस्व संकलन गर्ने विभागको प्रयास हुन्छ । असार मसान्तसम्ममा गत वर्ष भन्दा बढी राजस्व उठाउने गरी विभागले काम गर्नेछ ।’

पुस मसान्तसम्ममा विभागले लक्ष्य भन्दा २१ प्रतिशत कम राजस्व संकलन गरेको छ । विभागले पुस मसान्तसम्ममा २ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब २२ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ । जबकी गत वर्ष विभागले २ खर्ब २५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

‘गत वर्ष तथ्यांक विश्लेषण गरिएको भए यसरी राजस्व लक्ष्य निर्धारण हुँदैन थियो होला । बजारमा आर्थिक गतिविधी घटेको समयमा राजस्व वृद्धिको लक्ष्य सहि तरिकाले निर्धारण हुन सकेन,’ मैनालीले भने,‘पछिल्लो समय गलत गतिविधी बढेर पनि राजस्व प्रभावित भएको सुनिएको छ । हामीले बजार अनुगमन बढाएको छौं । गलत गतिविधी बढेको भए आगामी दिनमा रोकिदै जाने विश्वास छ । ’

चालु आर्थिक वर्षको साउनदेखि विभागले लक्ष्य भन्दा कम राजस्व संकलन गरिरहेका छ । साउनमा विभागले ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

भदौमा पनि विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको थिएन । भदौमा ३१ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ११ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

त्यसैगरी असोजमा २९ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको विभागले २७ अर्ब ९३ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा विभागले २९ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

मंसिरसम्म विभागले लक्ष्य भन्दा १४ प्रतिशत कम राजस्व संकलन गरेपनि मंसिरमा मात्रै लक्ष्य भन्दा २७ प्रतिशत कम राजस्व संकलन भएको थियो । विभागले मंसिरमा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएपनि २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

मंसिर मसान्त सम्म भने १ खर्ब ७४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको विभागले १ खर्ब ५० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । जबकी गत वर्षको मंसिरमसान्तसम्म विभागले १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । विभागले मंसिर मसान्तसम्म गत वर्ष भन्दा पनि ४ प्रतिशत कम राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेकोे आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ । चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न विभागले गत आर्थिक वर्ष भन्दा ३० प्रतिशत बढी राजस्व उठाउनु पर्छ ।

विभागका महानिर्देशक मैनाली पुस मसान्त सम्म गत वर्ष भन्दा ५ अर्ब रुपैयाँ कम राजस्व संकलन भएपनि असार मसान्तसम्म गत वर्ष भन्दा बढी राजस्व संकलन हुने तर लक्ष्य अनुसार राजस्व उठाउन निकै कठिन रहेको बताउँछन् ।

यो वर्ष बैंक वित्तिय संस्थाको नाफा घट्ने, आर्थिक गतिविधी खुम्चिदै जाने देखिएकाले विभागलाई लक्ष्य अनुसार राजस्व संकलन कठिन हुने अर्थ मन्त्रालयका उच्च अधिकारी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका एक अधिकारीले पुसमा गत वर्ष बराबर पनि आयकर बुझाउन कठिन भएको बताए ।

‘ब्याज बृद्धीसँगै आर्थिक गतिविधी सुस्त हुँदा नाफा मात्रै होइन कारोबार समेत घटेको छ,’एक उद्योगीले भने,‘ जसले गर्दा गत वर्ष बराबर पनि आयकर बुझाउन सकिएको छैन । ’

गत वर्ष करिब ३५ अर्ब रुपैयाँ आयकर तिरेका बैंक तथा वित्तीय संस्थाको नाफा घट्ने सम्भावना भएकाले पुसमा विभागलाई लक्ष्य अनुसार राजस्व उठाउन कठिन भएको हो ।


क्लिकमान्डु