नेपाल एसबिआई बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । पाल एसबिआई बैंकको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न उक्त सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आव २०७८/७९ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पुँजीमा १०.५३ प्रतिशतका दरले लाभांश (३.००% बोनश शेयर र ७.५३% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
उक्त साधारण सभाले आव २०७९/८० मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एसएआर एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।