बैंक तथा वित्तीय संस्था परिसंघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन (सूचीसहित)



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) मा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।

‘उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधारः दिगो बैंकिङ– उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार’ भन्ने मूल नाराकासाथ सिबिफिनको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त साधारण सभाले गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको हो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले सर्वसम्मत चयन भएको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको घोषणा गरे ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष गोल्यानसहित वरिष्ठ उपाध्यक्षमा भोजबहाजुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल रहेका छन् । त्यस्तै सचिवमा कुशप्रसाद मल्ली,सहकोषाध्याक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्र प्रसाद पौडेल,लिला प्रकाश सिटौला,मोतिलाल दुगर,राधेस पन्त ,महेन्द्र कुमार गोयल,भरतराज ढकाल,प्रो.हिरेन्द्र मान प्रधान चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पुर्‍याउँदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाकोरुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउन अभिन्न सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

साथै, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधिमार्फत् राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए ।

राष्ट्रपति वद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा समुद्घाटन गरिएको उक्त साधारण सभाको बन्द सत्र नयाँ वानेश्वरस्थित एभरेष्ट होटलमा सम्पन्न भएको थियो ।


क्लिकमान्डु