बैंकको ब्याजदर कम गरे व्यवसायीहरुको मनोबल उच्च हुनेछः विष्णु अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा ध्यान दिन राष्ट्र बैंकसँग आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

उनले बैंकको ब्याजदरमा केही कर्म गर्नसके उद्योगी र व्यवसायीहरुको मनोबल उच्च बन्ने बताए । अध्यक्ष अग्रवालले ग्लोवल आईएमई बैंक देशकै ठूलो बैंक बनेसँगै आगामी दिनमा बैंकको ब्याज घटाउने दिशातिर लाग्न सुझाव दिए । उनले सिडि रेसियो पनि सहज हुँदै गइरहेपनि बैंकहरुमा लगानी गर्ने आत्मविश्वास आउन नसकेको बताए ।

उनले बैंकहरुले लगानी गर्ने आत्मविश्वास बनाउन राष्ट्र बैंकसँग आग्रह गरे । उनले अहिले तरलता सहज भइरहेको भन्दै इन्भेष्टिबल लगानीलाई उत्पादनमुखी क्षेत्रमा कसरी लगाउन सकिन्छ भन्नेबारेमा ध्यान दिन आवश्यक रहेको बताए ।

उनले भने, ‘ब्याजदरमा केही कमी ल्याउन पाए उद्योगी व्यवसायीहरुको मनोबल बढ्नेछ । यसमा मुख्य भुमिका खेल्न ग्लोवल आईएमई बैंकले अग्रता लिनुपर्छ । बैंकको ब्याज घटाउनेतिर अघि बढ्नुपर्छ । सिडी रेसियो पनि सजिलो हुँदै गइरहेको छ । ८६/८७ पुगेको छ । बैंकले लगानी गर्ने वातावरण बनाउन आग्रह गर्न चाहन्छु । इन्भेष्टिबल फण्डलाई उत्पादनमुखी कसरी बनाउने भन्नेबारेमा सोच्न आग्रह गर्दछु । नयाँ सरकारको पहिलो प्राथमिकतामा अर्थतन्त्र हुने भन्नुभएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको बेलामा ब्याजदर घटाउने र तरलता सहज बनाउने भन्नेमा सोचिन्छ भन्ने आशा छ ।’


क्लिकमान्डु