कर्जाको आकार बढ्दै जाँदा वित्तीय प्रणालीमा आर्थिक संकटको संकेत: पूर्वअर्थमन्त्री खतिवडा



काठमाडौं । पूर्वगभर्नरसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका छन् ।

आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री खतिवडाले बैंकहरुले कर्जाको आकार बढाउँदा जोखिम आउनसक्ने भन्दै बैंक तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका हुन् ।

बैंकको पुँजीकरण वृद्धिको लाभ विद्युतीय क्षेत्रले लिए पनि कृषि क्षेत्रले लिन नसकेको उनको भनाइ थियो ।

खतिवडाले बैंक तथा वित्तीय क्षेत्रको कर्जा अर्थतन्त्रको आकार बराबर भएकोभन्दै कर्जाको आकार बढ्दै जाँदा वित्तीय प्रणालीमा आर्थिक संकटको संकेत भएको उल्लेख गरे ।

पूर्वअर्थमन्त्री खतिवडाले बैंकहरुमा राखेको निक्षेप डुब्दैन भन्ने विश्वास समेत बढेको बताए । उनले बैंकिङ पुँजीबजार लगायत सम्पूर्ण वित्तीय क्षेत्रमा सूचना प्रविधिको प्रयोग ह्वात्तै बढेको भन्दै लेजर खाता पल्टाएर भुक्तानी गर्ने केन्द्रीय बैंक इन्टरनेटमा कारोबार गर्ने भएको उल्लेख गरे ।

उनले राष्ट्र बैंकले प्रविधिमा आधारित भएर कारोबार गर्न सकेकाले मात्रै महाभूकम्प तथा कारोना महामारीको अवस्थामा तत्काल सरकारी कारोबार र बैंकिङ सेवा दिन सम्भव भएको दाबी गरे ।

उनले पछिल्लो एक दशकमा बैंक तथा वित्तिय संस्थाको पुँजीकोष ८ गुणाले बढेको उल्लेख गरे । बैंकको पुँजी वृद्धिको कारण बैंकको सम्पत्ति अधिक मात्रामा बढ्न गई दक्षिण एशियामा नेपालका बैंकको पुँजीकरण माथि पुगेको बताए ।

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा गत वर्ष बैंकहरुको सम्पत्ति १२३ प्रतिशत पुगेसँगै बैंकको कुल पुँजीकरणमा नेपाल विश्वमा अधिक पुँजीकरण हुने १४० देशमा २३ औं स्थानमा पुगेको बताए ।

बैंक तथा वित्तीय संस्था परिसंघले अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै खतिवडालाई सम्मान गरेको छ ।


क्लिकमान्डु