कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छः महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने बताएका छन् ।

शनिबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदका दोस्रो, तेस्रो लगायत अन्य दलहरुले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका थिए ।

उनले आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए । उनले अन्य दलहरु मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे । उनले नेपाली कांग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताए ।

उनले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने पनि बताए ।

महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पुर्‍याउन खोजेको बताए ।

उनले जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरुसँग पार्टी सभापति शेरबहादुर देउवासँगको भेट शीर्ष नेताहरुबीचको सामान्य भेटघाट रहेको दाबी गरे ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भन्नेकुरा निराधार रहेको बताए ।


क्लिकमान्डु