दमकमा जग्गाको कित्ताकाट खुल्यो
झापा । झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार मङ्सिर २० गतेको कार्यपालिका बैठकले दमक नगरपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारित गरेको छ ।
अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्न थालेको छ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय दमकलाई पत्राचार गरी कार्यान्वयनमा समेत आइसकेको उनको भनाइ छ ।
दमकमा गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो । कार्यविधिअनुसा र दुई दिनदेखि कित्ताकाटको काम सुरु गरिएको मालपोत कार्यालयका कर्मचारी मेदनी पोख्रेलले बताइन् । दमक नगरपालिकाले पारित गरेको कार्यविधिमा जग्गालाई सहरी, कृषि, औद्योगिकसहितका विभिन्न क्षेत्र वर्गीकरण गरिएको उल्लेख छ ।