जनताले परिवर्तनको आभाष गर्नेगरी न्यूनतम साझा कार्यक्रम बनेको छः ढकाल



काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ ।

शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको गठबन्धनको मस्यौदा कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बैठकले प्रतिवेदनलाई पूर्णता दिएको जानकारी दिए ।

शनिबार शीर्ष नेताहरुको संयन्त्रमा सरकारका न्यूनतम साझा कार्यक्रमहरु प्रस्तुत गर्ने उनको भनाइ छ ।

न्यूनतम साझा कार्यक्रम जनताको डेलिभरिको पक्षमा रहेको र परिवर्तनको आभाष हुनेगरी कार्यक्रम तयार भएको उनको दाबी छ ।

‘यो कार्यदलले आफ्नो प्रतिवेदन बनाएको छ र भोलि शीर्ष नेताहरुको संयन्त्रमा कार्यदलले बनाएको प्रतिवेदन पेस हुनेछ । जनताको डेलिभरिको पक्षमा परिवर्तनको आभाष हुनेगरी कुराहरु समेटिएका छन् । राम्रो न्युनतम कार्यक्रम बनेको छ । यसलाई भोलि शीर्ष तहले स्वीकृत गरेपछि सार्वजनिक हुनेछ । जनतालाई अब चाहीँ केही हुन्छ भन्ने आभाष हुने खालका कार्यक्रम आएका छन् । जनतालाई परिवर्तनको आभाष दिलाउने सरकार हो भन्ने महशुस गराउने गरी न्युनतम साझा कार्यक्रम आउने छन्’ ढकालले भने ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमलेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलसमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सहभागी छन् ।


क्लिकमान्डु