ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले २५ गतेदेखि एकीकृत कारोबार गर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जरप्रश्चात आगामी पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुने भएको छ ।

यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त भइसकेको छ ।

बैंकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार शुरु गर्न डाटा माइग्रेसनका लागि आगामी शनिबार र आइतबार २ दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहने बैंकले जनाएको छ ।

तर सो अबधिमा बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिटयान्स् सेवा भने यथावत संचालनमा रहनेछ । यसबाट आफ्ना ग्राहक महानुभावहरुमा पर्न जाने असुविधाप्रति बैंक क्षमाप्रार्थी छ ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पूँजी ३५.७७ अर्ब रुपैयाँ, कूल निक्षेप ४०८ अर्ब रुपैयाँ, कूल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने छन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।


क्लिकमान्डु