विराटनगरमा व्यापार सहजीकरण कार्यक्रमको आयोजना



विराटनगर । विराटनगरमा व्यापार सहजीकरण कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को अयोजना र कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौंको सहकार्यमा स्थानीय रुपमा राम्रो व्यापार हुने गरेका कृषि उपज दुग्ध र मासुजन्य उत्पादनको मूल्य श्रृंखलापात्रहरुबीच व्यवसायीक सम्बन्ध स्थापना विकास गर्न व्यापार सहजीकरण कार्यक्रम विराटनगर महानगरपालिका वडा नं. ४, इक्राहीमा आयोजना गरिएको हो।

स्थानीय उत्पादक व्यवसायीबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विराटनगर दुग्घ वितरण आयोजना अधिकृत विनोद चौधरी, जीवन विकास डेरीका प्रबन्धक विनोद नेपाल, सुर्योदय मिल्क एण्ड बेभेरेज प्रालीका प्रतिनिधि गुरु प्रसाद अधिकारी, शिवम् डेरी एण्ड फुड प्रालीका उत्पादन प्रमुख विजय तबदारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तुलागंगा कृषि फार्मका संचालक विष्णु दुलालले दुग्ध व्यवसायीहरुको उत्पादन लागत बढ्न गई व्यवसाय संचालनमा समस्या भोगिरहेको बताए ।

भोला कृषि फार्मका संचालक भोला यादवले कोरोना कालमा दुग्ध उत्पादकहरुप्रति उद्योगीहरुले गरेको व्यवहारले दुखित बनाएको कुरा बताउनु भयो । उक्त कार्यक्रममा सो क्षेत्रका ३५ जना भन्दा बढी दुग्ध उत्पादकहरुको सहभागिता रहेको थियो ।

त्यस्तै मासुजन्य उत्पादक र व्यवसायी वीचको अन्तक्रिया कार्यक्रममा मासु व्यवसायी संघ मोरङका अध्यक्ष सुभाषचन्द्र शिवाकोटी, सदस्य रोशन बन र टंक प्रसाद गौतम सहित ३० जनाको उपस्थिती रहेको थियो ।

मासु उत्पादकहरुबाट कुखुरा, खशीमा लाग्ने दानाको मूल्य बारम्बार बृद्धि हुनाका कारण व्यवसाय धान्न धौ धौ परेको बताए ।
कार्यक्रममा व्यवस्थित बधशाला र कोल्ड स्टोरेजको आवश्यकता र खुला सिमाका कारण आयातित कुखुरा, खशीले मुल्य श्रृखंलामा असर परेको कुराको सहभागिहरुले उठाएका थिए ।


क्लिकमान्डु