प्रभु र सेन्चुरी बैंक एकिकृत कारोबार २६ गतेबाट हुने, ४ दिन सेवा बन्द हुने



काठमाडौं । प्रभु र सेन्चुरी कमर्सियल बैंक मर्जर पश्चात पुस २६ गते ‘प्रभु बैंक’ को नाममा एकिकृत कारोबार हुने भएको छ ।

दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरिसकेको छ । त्यस अनुसार नेपाल राष्ट्र बैंकले पनि मर्जरका लागि दुवै बैंकलाई अन्तिम स्वीकृति दिएको छ ।

पुस १७ गते दुवै बैंकलाई राष्ट्र बैंकले मर्जरलाई स्वीकृति समेत दिइसकेको छ । बैंकका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयले बिहीबार सेन्चुरीको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति समेत दिएको छ ।

मर्जपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा मनोज न्यौपाने हुनेछन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहने छन् ।

पुस २६ देखि एकीकृत कारोबार हुने भएकाले डाटा माइग्रेसनका लागि आज (शुक्रबार) राति १२ बजेदेखि पुस २६ गतेसम्म दुवै बैंकको सेवा बन्द हुने दुवै बैंकले जनाएका छन् ।


क्लिकमान्डु