विराटनगरमा अपाङ्गता समावेशी रोजगार मेला शुरु



विराटनगर । यहाँ दुई दिनसम्म सञ्चालन हुने अपाङ्गता समावेशी रोजगार मेला शुक्रबारदेखि शुरु भएको छ ।

मेलाको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाट गरेपछि सुरु भएको हो । मेलामा ३४ वटा स्टलहरू रहेका छन् । जसमा प्रदेश १ का ३ सय जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको आयोजक संस्थाका श्याम भण्डारीले जानकारी दिएका छन् ।

मेलाको आयोजना नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १, राष्ट्रिय अपाङ महासंघ, नेपाल, करुणा फाउण्डेशन नेपाल र द लेप्रोसी मिशन नेपालले गरेका हुन् । मेला शनिबार सकिने बताइएको छ ।

प्रदेश १ मा ५ सय १ जना अपाङ्गता भएका व्यक्ति सूचीकृत भएको एफएनसीसीआईका प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । उनका अनुसार, त्यसमध्ये ९० प्रतिशत् अपाङ्गता भएका व्यक्ति परर्निरतामा बाँच्न बाध्य छन् । सरकारले २५ हजार श्रमिकमा एक जनालाई अनिवार्य रोजगारी उपलव्ध गराउने नीति तय गरेको छ ।

सरकारको त्यही नीतिअन्तर्गत निजी क्षेत्रका उद्योग प्रतिष्ठानहरूले अपाङ्गता भएका व्यक्तिलाई रोजगार वा स्वरोजगार बनाउन उनले आह्वान गरे । अपाङ्गता भएका व्यक्तिले पनि देशको राष्ट्रिय आयमा सहयोग पु¥याउन सक्छन् भन्ने भावना राखेर अघि बढ्न उनीहरूलाई स्वरोजगारसम्बन्धी तालिम दिएर सक्षम बनाउन जरुरी रहेको उनको भनाइ छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्न सरकार कटिवद्ध भएको र यसका लागि निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

प्रदेश १ कै सामाजिक विकासमन्त्री राजन राईले सरकारले विकासका नाममा केवल संरचनामात्र खडा गरेर नहुने भन्दै जनतालाई रोजगार बनाउन आवश्यक रहेको बताए । त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मेलामा आएका ३ सय जना अपाङ्गता भएका व्यक्तिहरूलाई होटल, गार्मेन्ट, पर्यटन क्षेत्र, स्वास्थ्य, बैंकिङ गरी ९ वटा क्षेत्रमा रोजगार तथा स्वरोजगार बनाइने राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश व्यवस्थापन समितिका संयोजक सरोज नेपालीले बताए ।

मेला सुरु हुनुअघि ९ सय जना व्यक्तिको आवेदन परेकोमा ३ सय जना छनोट भएर मेलामा आएको उनले जानकारी दिए । उनीहरूलाई उनीहरूको रुची अनुसार रोजगार तथा स्वरोजगार बनाइने र त्यसका लागि मेलामा नै रोजगारदाताहरू स्टल राखेर बसेको उनले बताए ।


क्लिकमान्डु