नारायणी नदीमा मोटरबोट, पर्यटक बढे
चितवन । छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि आकर्षण बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् ।
नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ ।
कालिका नगरपालिका– ५ बाट आएकी बालिका कँडेल मोटरबोट चढ्नकै लागि नदी किनारमा आएको बताइन् । उनले मोटरबोट चढेर यहाँको दृश्य अवलोकन गर्न पाउँदा निकै रामइलो लागको अनुभव सुनाइन् ।
खाली समयको सदुपयोग गर्नमात्रै नभएर विशेष दिनमासमेत रमाइलो गर्नका लागि पनि नदी किनार आउनेको सङ्ख्या उत्तिकै छ ।
नारायणी नदीमा सञ्चालन भएको मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको भीड बढ्दै गएको व्यवसायी बताउँछन् । चितवन भएर यात्रा गर्नेहरु नारायणी नदीमा मोटरबोटको मज्जा लिएर जाने गरेका छन् ।
नदी किनारमा मोटरबोट चढ्नका लागि सामान्य दिनको तुलनामा बिदाको दिनमा आन्तरिक पर्यटकहरु धेरै आउने गरेमने रङ्गमहल रिभरल्याण्ड प्रालिका क्याप्टेन विजय तामाङले बताए ।
नारायणी किनारमा बिहानको समयमा मर्निङ वाक र योग गर्नेको चाप हुन्छ । दिउँसो भने सबै उमेर समूहका मानिस यहाँ आउने गरेका छन् ।
मुलुककै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनमा नारायणी नदीको मोटरबोटले छुट्टै आकर्षण थपेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए ।
उनले मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको वृद्धि भएसँगै व्यवसायीले मोटरबोटमा करोडौँको लगानी गरेको जानकारी दिए ।
नारायणी नदी किनारमा सञ्चालित मोटरबोट चितवनको नयाँ मनोरञ्जन केन्द्रको रुपमा स्थापित हुँदै गएको युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारी बताउँछन् ।
नारायणी नदीमा मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए ।
मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको उनले जानकारी दिए । शनिबारको दिन भने बढी आउने गरेका छन् ।
भरतपुर महानगरपालिका–१ का वडासदस्य मनोज घिमिरेले मोटरबोट र नदी किनार व्यवस्थित गराउने काम गरिएको बताए । उनले किनारमा व्यापार व्यवसाय गर्ने र घुम्ने ठाउँलाई निश्चित क्षेत्र तोकेर काम गरिएको जानकारी दिए ।
केन्द्र सरकार र महानगरपालिकाले बजेट विनियोजन गरेर नदी किनारलाई आकर्षक बनाउने काम भइरहेको उनले बताए ।
नारायणी नदीमा हाल विभिन्न कम्पनीका २३ मोटरबोट सञ्चालनमा रहेका छन् । ऐतिहासिक नगरवन क्षेत्र, नारायणी नदी, विभिन्न मठमन्दिरलगायत रहेकाले पनि यो क्षेत्र पर्यटकका लागि आर्कषक रहेको छ ।