आरआरमा एमाले निकट विद्यार्थी संगठनका अध्यक्षमाथि खुकुरी प्रहार, ३ जना घाइते



काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा ३ जना घाइते भएका छन् ।

यसअघि भएको विवादले उग्ररुप लिँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारी लगायतका नेतामाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताए ।

अध्यक्ष भण्डारीको अवस्था गम्भीर रहेको उनले बताए । घाइतेहरुको अहिले काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको उनले बताए।

‘आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारी लगायतमाथि खुकुरी प्रहार भएको छ र उहाँको अवस्था गम्भीर छ । कमिटीका उपाध्यक्ष लोकेश खड्का, हर्क बोहरा, रवि मगर लगायतका साथीहरु मेलमिलाप गराउन जाँदा उहाँहरुमाथि नै खुकुरी प्रहार भयो । यिनीहरुलाई राज्यले छोड्नु हुँदैन । उनीहरुलाई पढीरहेका छन् भने निलम्वन गर्ने, छैनन् भने पनि कारबाही गर्नेकुरा अघि बढाउने छौँ । ४ जना समातिएका छन्, एकजना द्रुतराज लामा भन्नेले हान्यो भन्ने नाम आएको छ । आरआर क्याम्समा छैनन्, कुनै कमिटीमा छैनन् ।’

सभापति शाहीले खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरु आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको बताए ।


क्लिकमान्डु