अर्थतन्त्रका समस्या समाधान गर्न मन्त्रालय र राष्ट्र बैंक सँगै छः अर्थमन्त्री पौडेल



काठमाडौं । नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले निजी क्षेत्रलाई निरास नबनाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘तपाईहरुलाई निरास बनाउने छैन । म अहिले देखिएको समस्या समाधानका लागिा निष्कर्ष नजिक पुगेको छु’ उनले भने ‘राष्ट्र बैंक पनि निजी क्षेत्रको समस्यामा गम्भिर छ । निजी क्षेत्र कमजोर भयो भने सरकारले काम गर्न सक्दैन ।’

उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रलाई सरकार भएर सोचिदिन आग्रह गर्दै सरकारले पनि निजी क्षेत्र भएको सोचेर समस्या समाधान गर्ने बताए । ‘हामी नीजि क्षेत्र भएर सोच्छौ र अहिलेको समस्या समाधान हुन्छ’ उनले भने ‘त्यसको सुरुवात सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नै गरिसकेको छ ।’

अहिले देखिएको समस्या आज वा भोली नै नभएपछि यथासक्य चाँडो समाधान हुने आश्वासन दिलाए । व्यवसायीले विज्ञप्ति बुझाउने कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी थिए । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले अर्थतन्त्रमा देखापरेको समस्या समाधानका लागि सार्थक प्रयास गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री पौडेलका अनुसार अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय भएको छ ।

यस्तै वित्तीय र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

त्यस्तै राजस्वको लक्ष्य प्राप्त गर्न चुहावटलाई कडाइका साथ नियन्त्रण गर्ने र यसका लागि राजस्व प्रशासनमा आवश्यक पुनःसंरचना गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, राजस्वको लक्ष्य प्राप्त गर्न एवं आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रसँग सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने मन्त्रिपरिषद्को निर्णय गरेको छ ।


क्लिकमान्डु