रुकुम पश्चिममा महालक्ष्मी लाइफले शुरु गर्‍यो महिला सशक्तिकरण कार्यक्रम



काठमाडौं । रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रम शुरु गरेको छ ।

महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका हुन् ।

पुस ११ गते लक्ष्मी केसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, महिला तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सीइओ भट्टराईले समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई रोजगारी दिई आय आर्जनको लागि यो कार्यक्रम अवसरको रुपमा रहेको बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला र बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

रुकुम पश्चिम जिल्ला समन्वय समितिका संयोजक लुम्बिनी गौतमले रुकुम जस्तो दुर्गम क्षेत्र राजनैतिक चेतना र सुविधाको हिसावले विकसित भैसकेको भएता पनि महिलाको आर्थिक उन्नतीको लागि कम्पनीको यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सानी भेरी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेर बहादुर खड्काले महिला सशक्तिकरणको लागि सरकार र गाउँपालिकाले पनि बजेट छुट्याएकोले महिलाहरुको रोजगारी र आय बृद्धिको लागि संचालित यस्ता कार्यक्रममा महालक्ष्मी लाईफ सँग सहकार्य गरेर जान तयार रहेको बताए ।


क्लिकमान्डु