अर्थमन्त्रीबाट बिदा हुने बेलामा जनार्दन शर्माले सोधेः गभर्नरसा’प खोई ?



काठमाडौं । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएसँगै शेरबहादुर देउवाको मन्त्रिपरिषद स्वत भंग भएको छ । प्रचण्डले सपथ खानुभन्दा अगाडिनै देउवा सरकारका मन्त्रीहरु मन्त्रालयमा औपचारिक कार्यक्रम नै गरेर धमाधम विदा भइरहेका छन् ।

अर्थ मन्त्रालयले सोमबार २ बजेका लागि अर्थमन्त्री जनार्दन शर्माको विदाइको कार्यक्रम राखेको थियो । कार्यक्रममा अर्थमन्त्रालयका अधिकारीहरु र अर्थमन्त्रालय अन्तर्गगत पर्ने सम्पूर्ण निकायका अधिकारीहरुलाई बोलाइएको थियो ।

तर, अर्थमन्त्री शर्माको विदाइ गर्न बोलाइए पनि राष्ट्र बैंकका गभर्नर भने उक्त कार्यक्रममा गएनन् । गभर्नरलाई नदेखेपछि अर्थमन्त्री शर्माले मन्त्रालयका कर्मचारीलाई सोधे– गभर्नरसा’प खोई ? गभर्नरलाई किन नबोलाउनु भएको ?

तर, अर्थमन्त्रालयका कर्मचारीहरुले गभर्नरलाई बोलाएको जानकारी दिए । किनभने, गभर्नर किन नआएको भनेर उनले कुरा बुझिहाले ।

विगत १५ महिनादेखि अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच तिक्तता बढेको थियो । एकले अर्कालाई खुलेरै असहयोग गर्दै आएका थिए । यतिसम्म कि अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले गभर्नरलाई बर्खास्त गर्ने निर्णयसमेत गरेको थियो । तर, सर्बोच्च अदालतको आदेशबाट गभर्नर अधिकारी राष्ट्र बैंक फर्किए ।

त्यसपछि पनि एकअर्का मिलेर अर्थतन्त्र हाँक्न सकेनन् । गभर्नरले अर्थमन्त्रीलाई टेर्दै टेरेनन् । दुईजनाबीचको इगोको लडाईंले समस्यामा परेको अर्थतन्त्रलाई थप समस्यातर्फ लगेको छ ।

विभिन्न सार्वजनिक कार्यक्रमहरुमा एउटै मञ्चमा बसेपनि उनीहरुबीच बोलचाल हुँदैन थियो । र, एकले अर्काका कुरा काट्दै आएका थिए । अर्थमन्त्री र गभर्नरको यो रबैयाले निजी क्षेत्रलाई निकै दुखी बनाएको थियो ।

सोही इगोका कारण गभर्नर अधिकारी अर्थमन्त्री शर्माको विदाई कार्यक्रममा नगएको गभर्नरनिकट स्रोतले जानकारी दियो ।

‘जनार्दन शर्मालाई अर्थमन्त्रीकारुपमा गभर्नरसापले स्वीकारै गर्नुभएको छैन भने किन उहाँको विदाई कार्यक्रममा जाने ?’ गभर्नरनिकट स्रोतले भन्यो ।


क्लिकमान्डु