डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा टेवा पुग्छः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा टेवा पुग्ने बताएका छन् ।
गभर्नरले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता शुभारम्भ कार्यक्रममा बोल्दै डिजिटर कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा टेवा पुग्ने बताएका हुन् ।
गभर्नर अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरुआत गरिएको जानकारी दिए ।
‘क्युआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैंमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नको निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ,’ उनले भने ।
उनकाअनुसार डिजिटल कारोबार ‘पारदर्शिताको मेरुदण्ड’ हो । नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए ।
विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष’ को रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ ।