विराटनगरमा चार वर्षदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा



विराटनगर । विगत चार वर्षभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर विराटनगर महानगरपालिकाले मर्मतपछि सञ्चालनमा ल्याइएको छ ।

बिग्रिएर थन्किएको ब्रुमर मर्मततर्फ ध्यान नदिँदा बेवारिसे बनेको थियो । मेयर नागेश कोइरालाले सम्बन्धित शाखा प्रमुखलाई मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । मर्मतपछि ब्रुमरबाट कञ्चनबारीचोकदेखि नहरसम्मको सडक सफाइ गरिएको छ ।

ब्रुमरले सफा गरेपछि दमकलबाट सडक पखालिएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने मेयर कोइरालाको योजनाअन्तर्गत महानगरका मुख्य र बढी आवतजावत हुने सडक पखाल्ने काम भइरहेको छ । यसैक्रममा विराटनगर एयरपोर्ट रोड पखालिएको छ ।

ब्रुमरबाट महानगरका मुख्य सडकको धुलो बढारिनेछ । लामो समयदेखि थन्किएको ब्रुमर मर्मतपछि कञ्चनबारीचोकदेखि पश्चिम नहरसम्मको सडक सफा गरेर परीक्षण गरिएको छ ।

‘बिग्रिएर लामो समय थन्किएका कारण मर्मत गरेर परीक्षण गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले भने, ‘अझै केही सानातिना समस्या रहेको छ । अझै परीक्षण गरेर समस्या देखिए मर्मत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याइनेछ ।’

बु्रमरले सफा गरेपछि सडकलाई पखालेर चिकिक्क पारिएको छ । सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने ब्रुमर यति लामो समयसम्म सञ्चालन नआउनु आफूलाई आश्चर्य लागेको स्थानीय प्रमेश बस्नेतले बताए । उनले नयाँ नेतृत्व आएसँगै महानगरको सफाइमा आमूल परिवर्तन आएको प्रतिक्रिया दिए । बस्नेतले विराटनगरमा पछिल्लो समय धेरै नै परिवर्तनको महसुस गरेको सुनाए ।

‘आलोचना र विरोध गर्नेहरुले त गरिनै रहन्छन् तर विराटनगरमा धेरै नै परिवर्तनको महसुस गरेको छु,’ बस्नेतले भने । आफ्नो वडामा ब्रुमरबाट सफा गरिएपछि वडाध्यक्षसमेत दंग परेका थिए । वडा नम्बर–४ का वडाध्यक्ष जितन थापाले लामो समयसम्म मर्मत नगरी थन्किनु आश्चर्यजनक भएको प्रतिक्रिया दिए । अभियानअन्तर्गत महानगरका १९ वटै वडामा सफाइ गरिने उनको भनाइ थियो ।

सफाई अभियानमा प्रमुख प्रशासकीय अधिकृत कोइरालासहित विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, ४ का जितन थापा, वडा सदस्य, महानगरको सरसफाइ महाशाखा प्रमुख पुनम दाहाललगायतको सहभागिता थियो । २०७५ असोजमा महानगरपालिकाले ५५ लाख रुपैयाँमा ब्रुमर खरिद गरेको थियो ।


क्लिकमान्डु