उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड : राष्ट्रपति भण्डारी



बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यका निकायहरूको ध्यान जानुपर्नेमा जोड दिएकी छन् ।

आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सबैको ध्यानाकर्षण गराइन् ।

स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गरिदिनु राज्यको गहन जिम्मेवारी भएको उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले वर्तमान अवस्थामा देशको राष्ट्रिय अर्थतन्त्रले धेरै गम्भीर प्रकारका चुनौतीहरूको सामना गरिरहेको भन्दै व्यापार घाटा र आयातमाथि हाम्रो निर्भरता विस्तारले विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप परेको बताइन् । यी चुनौतीबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्ने उनको जोड छ ।

“मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युत्को स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक छ”, राष्ट्रपति भण्डारीले भनिन् ।

हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाई युवा जनशक्ति र किसानहरूलाई उत्प्रेरित गर्न उद्योगी–व्यवसायीसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने अत्यन्त सामयिक विषयवस्तुका साथ आयोजना गरिएको यस प्रदर्शनीले विगत करिब तीन वर्षदेखि कोभिड–१९ महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरिन् ।

“विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको काखमा आज तपाईंहरूले समृद्ध नेपाल निर्माण गर्न र स्वदेशी उद्यमशीलतालाई विस्तार गर्नुपर्ने अत्यन्त असल विचार अगाडि सार्नुभएको छ”, उनले भनिन् ।

हाम्रो सभ्यताले विकास गरेका प्राचीन शास्त्रहरूले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया’ को परिकल्पना गरेको बताउँदै उनले जसमा हरेक व्यक्तिलाई सुखी रहनका निम्ति निरोगी र उद्यमशील हुन आवश्यक पर्ने सन्देश अन्तर्निहित रहेको उल्लेख गरिन्

बुद्धका उपदेशको सार पनि निःस्वार्थ परिश्रम र मानव सेवासँग नै सम्बन्धित रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले हाम्रो सभ्यताका यिनै मार्गदर्शनसमेतलाई आधार मानेर हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा तय गरेको स्पष्ट पारिन् ।

उनले प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको मात्र नभई विश्वभरिका बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल समेत भएकाले यो क्षेत्र अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको उनको भनाइ थियो ।

उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्दै सभ्यता र आधुनिकताको नयाँ सङ्गमस्थल बनाउन व्यक्तिगत तथा संस्थागत साथ रहने प्रतिबद्धता जनाइन् ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित रुपन्देही उद्योग सङ्घको आयोजनामा १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु भएको हो ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका चार सय ५० स्टल छन् ।

प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्क स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, विभिन्न विषयमा अन्तरक्रिया गर्ने जनाइएको छ ।


क्लिकमान्डु