२०६४ र ७२ सालमै राष्ट्रपति पद अस्वीकार गरेको हुँः माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव आएको तर अस्वीकार गरेको बताए ।

उनले त्यतिबेला उमेर नपुगेकाले आफूले उक्त पद अस्वीकार गरेको दाबी गरे । आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यक्ताको पद लिने अध्यक्ष नेपालको भनाइ थियो ।

‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ । यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ । राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’

अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए ।


क्लिकमान्डु