गठबन्धनकै सरकार बन्छ,राष्ट्रपतिबारे अहिले नसोध्नुस् : प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

अध्यक्ष दाहालले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने प्रतिक्रिया दिए । बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ लिएलगत्तै उनलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको नेतृत्वमा तपाई कि शेरबहादुर देउवा भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उनले सो सम्बन्धमा सल्लाह गरेर सहमतिमा पुग्ने बताए ।

राष्ट्रपतिबारे भने अहिलेनै प्रश्न नगर्न उनको आग्रह थियो ।

सपथग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उनको भनाई थियो । ‘सबै प्रक्रिया सहज ढंगले अगाडि बढेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो । आज सपथग्रहण पनि बडो उत्साहका साथ सम्पन्न भयो । अव सरकार पनि त्यसैगरी बन्छ । र, काम अगाडि बढछ । अव सरकार यही गठबन्धनको बन्छ । प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौं । राष्ट्रपतिबारे अहिले नसोध्नुस्’ उनले भने ।

प्रचण्डले प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुसँगको छलफललाई पनि तीव्रता दिएका छन् भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत् छलफललाई अगाडि बढाइरहेका छन् ।


क्लिकमान्डु