विराटनगरका ४० संस्थाका व्यवसायीले सार्वजनिक गरे सडक आन्दोलनका कार्यक्रम



विराटनगर । यहाँका ४० संघ संस्थाका उद्योगी व्यवसायीद्वारा विराटनगरमा सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । उनीहरूले बुधबार विराटनगरमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर उनीहरुले भोलि (बिहीबार) देखि तालिकासहितको आन्दोलन घोषणा गरेका छन् ।

उनीहरूले अहिलेको चर्को बैंक व्याजदर र प्रतिकूल बैंकिङ नीतिहरूका विरुद्ध सडक आन्दोलनको घोषणा गर्न बाध्य भएको बताएका छन् । आन्दोलन बुधबारदेखि विराटनगरमा जुलुश प्रदर्शन, बजार बन्द र राष्ट्र बैंकअगाडि धर्ना दिनेलगायतका कार्यक्रम गरेर शुरु गरिने उनीहरूले जानकारी गराएका छन् ।

यी कार्यक्रमहरू तीन दिनसम्म लगातार गरिने नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताए । त्यसपछि सरकार र राष्ट्र बैंकले सुनुवाई नगरे पुस १० गतेदेखि सशक्त आन्दोलन गरिने उनको भनाइ छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नवीन रिजालले पहिलो चरणको आन्दोलनमा ५ वटा माग अघि सारिएको बताए । उनका अनुसार चालु पूँजी कर्जा निर्देशिका खारेज, एकल अंकको बैंक व्याजदर कायम, स्प्रेडदर २ प्रतिशत कायम, संस्थागत व्याजदर २ प्रतिशत कायम गर्नुपर्ने र बैंकर र व्यवसायी अलग हुनुपर्ने मागहरू अघि सारिएका छन् ।

यी मागका सम्बन्धमा सरकार र राष्ट्र बैंकले तत्काल सुनुवाइ नगरे थप मागसहित सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अघि बढ्ने उद्योग संगठनका बरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले बताए । उनका अनुसार राष्ट्र बैंक प्रदेश १ मा बिहान ९.४५ देखि साँझ ४ बजेसम्म धर्ना कार्यक्रम हुनेछ । बजार बन्द गर्न माइकिङमार्फत् प्रचारप्रसार गरिने छ । तर, कसैलाई पनि जबर्जस्ती गरेर पसल बन्द गर्न लगाइने छैन ।

सकेसम्म राष्ट्र बैंकको कारोबार बन्द गराउने आफूहरूको उद्देश्य रहेको परिसंघका प्रदेश १ अध्यक्ष घिमिरेले दाबी गरे । उनका अनुसार अन्दोलनका क्रममा प्रहरी प्रशासनबाट बल प्रयोग भए सोका प्रतिकार गरिने छ । प्रतिकारका क्रममा लाठी खानेमात्र होइन गोली खान र जेल पर्न पनि उद्योगी व्यवसायीहरू तयार हुन्छौं ।

आफूहरूको आन्दोलनमा वस्तुगत संघसंस्थाहरूको पूर्णसहमति र समर्थन रहेको उनले जिकिर गरे । यातायात व्यवसायी संघ, ट्रेड युनियन महासंघ, घरेलु तथा साना उद्योग महासंघ, इटा व्यवसायी संघ, निर्माण व्यवसायी संघ, ढुवानी व्यवसायी संघ, नेपाल कानुन व्यवसायी संघलगायतका वस्तुगत तथा पेशागत संघसंस्थाहरू आन्दोलनमा सहभागी हुने उद्योगी घिमिरेले जानकारी दिएका छन् ।

आन्दोलनमा सहभागी हुन गत मंसिर २७ गते नेपाल उद्योग संगठन, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघको पहलमा विभिन्न पेशागत तथा वस्तुगत संघसंस्थाको विराटनगरमा बैठकले निर्णय गरेको जानकारी गराइएको छ ।

यसअघि पुस १ गतेदेखि आन्दोलन गर्ने भनिए पनि विराट एक्सपो सञ्चालन शुरु गरिएको कारण अन्दोलनका कार्यक्रमहरू स्थगित हुन पुगेको बताइएको छ । सो एक्सपो आइतबार सकिँदैछ ।


क्लिकमान्डु