विराट एक्स्पो रोजगार पेभिलियनमा युवाहरूको आकर्षण



विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको खेल मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको छ ।

एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगारसम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ ।

एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म ३ सय जनाभन्दा बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरिसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए ।

स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए ।

मेलामा रोजगारीका लागि फर्म भर्नेहरूमा धेरैजसो स्नातक तहमा पढ्ने विद्यार्थीहरू रहेको संयोजक यादवले बताएका हुन् । कामको खोजीमा विद्यार्थीहरू धेरै आएका र सीप सिकेका दक्ष जनशक्ति थोरै मात्रै भएकाले माग भएको कामका लागि ‘म्याच’ गर्न गाह्रो भएको यादवले जानकारी दिए । काम खोज्न आउनेहरू धेरैजसोले लेखा, रिसेप्सनलगायतका पदहरूमा आवेदन दिएका छन् ।

यता रोजगारदाताहरूले भने धेरै जासो उद्योगमा काम गर्ने दक्ष तथा अर्धदक्ष कामदार र थोरै मात्रामा लेखा तथा रिसेप्सनका लागि माग गरेको जनाइएको छ ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ ।

सुनसरी इटहरीका रोहन दाहाल रोजगार मेलामा फर्म भरिरहेको अवस्थामा भेटिए । आर्थिक अवस्था कमजोर भएका उनी प्लस टु पास गरेर प्राविधि शिक्षा लिन आतुर भए पनि सरकारी शैक्षिक संस्थामा नाम ननिस्किएर घरैमा बसेको थिए ।

रोजगार मेलामा काम गर्ने अवसर पाइन्छ भन्ने सुनेर आएको उनले बताए । उनले मोरङ बूढीगंगामा रहेको मनमोहन विश्वविद्यालयमा सिभिल पढ्न यसै पाली फारम भरेका थिए तर त्यहाँ उनको नाम निस्किएन छ ।

अब उनी जेजस्तो सीप पनि सिक्न तयार भएर आएको बताए । उनीजस्ता सप्तरी, सिरहा, उदयपुर, धनककुटा भोजपुरबाट आएका प्लस टु पास गरेका धेरै विद्यार्थीहरूले पनि रोजगार मेलामा फर्म भरिरहेका थिए ।

मेलाको बारेमा विभिन्न सञ्चारमाध्यमबाट प्रचार प्रसार गरिएको कारणले पनि विराटनगरबाहेक अन्य ठाउँबाट अवलोकनकर्ता मेलामा आएको प्रचार प्रसार संयोजक नन्दकिशोर राठीले बताए । विराट एक्सपो गत मंसिर २९ गतेदेखि सञ्चालन भएको हो ।


क्लिकमान्डु