तरलता अभावले आर्थिक क्रियाकलाप ठप्प, सरकारले करसमेत उठाउन सकेन: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बैंकिङ प्रणालीमा तरलता अभाव भएका कारण आर्थिक क्रियाकलाप ठप्प भएको बताएका छन् ।

नेकपा एमालेले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले आर्थिक क्रियाकलाप ठप्प हुनु चिन्ताको विषय भएको बताए ।

‘बजारमा पैसाको कारोबार घटेको, बैंकको ब्याज बढेको छ’ उनले भने ‘बैंकसँग ऋण दिने पैसा छैन । बैंकमा तरलताको अभाव भएपछि आर्थिक क्रियाकलाप ठप्प भएको छ ।’

भर्खरै बामे सर्दै गरेको, भित्तो समाउँदै माथी उठन थालेको अर्थतन्त्रलाई १६ महिनाको अवधिमा धरासायी बनाउने काम भएको उनको दाबी थियो ।

उनले केही वर्षसम्म सच्याउन मुस्किल पर्नेगरी आर्थिक कृयाकलाप ध्वस्त भएको गुनासो गरे । अहिले नेपालले आत्मनिर्भर अर्थतन्त्र भनेपनि लगातार परनिर्भरता तर्फ गइरहेकामा उनले चिन्ता व्यक्त गरे ।

‘निर्यात गर्न बस्तु छैन, आयात गर्न पैसा छैन । विदेशी मुद्राको संचिती छैन’ उनले भने ‘अहिले कर पनि उठने नसकेर माइनसमा गएको छ । कोरोना भएको समयमा पनि अलीकती मात्रै खस्केको हुँदो हो । व्यापार नभएको समयमा पनि खस्केको हुँदो हो । अहिले त माइनसमा नै गएको छ । अहिले २२, २५ प्रतिशत रिभिन्यू माइनसमा छ ।’

ओलीले अहिले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको लगानी घटेको दाबी गरे । गठबन्धन सरकारले बनिरकेको बाटो निर्माणकार्य रोक्ने आदेश दिएर विकास निर्माण रोक्ने काम गरेको उनको आरोप थियो ।

अहिले देशमा रोजगारीका अवसर सृजना हुने स्थिति नभएको भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निरन्तर बढेको र देशको अर्थतन्त्र विप्रेषणामा मात्रै सीमित भएको ओलीको भनाइ थियो ।


क्लिकमान्डु