यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय



काठमाडौं । सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार बसेको मन्त्रिपरिषद बैंठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको जानकारी दिए ।

सरकारले माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्री कार्कीले संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने निर्णय भएको जानकारी दिए ।

उनले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने, खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका,२०७९ स्वीकृत गर्ने निर्णय गरेको छ भने कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने निर्णय भएको छ ।


क्लिकमान्डु