गठबन्धनमा अहंकार भए सामना गर्न तयार छौँः अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाइ ज्ञापन कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासाको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताए ।

अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने बताए । आगामी सरकार गठबन्धनकै बन्ने उनको दाबी थियो ।

अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार भए र उनीहरुलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको बताए ।

‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो सरकार बन्ला भन्नेकुरा चासोको विषय छ । कसैले गैर वामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खाली पुलावमात्रै हो । कसैले बामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, अल्मल्याउने कुरा मात्रै हो । यस्ता कुरालाई हामी सहजै पत्याउन सक्दैनौँ । भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती हामी गर्दैनौँ । त्यसैले हामी गठबन्धनलाई कायम राख्नेछौँ । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौँ । गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार छ भने उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न पनि हामी तयार छौँ ’उनले भने ।

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको बताए । आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको उनको भनाइ थियो ।


क्लिकमान्डु