मैलुङ-स्याफ्रुबेँसी खण्डकोअन्तर्राष्ट्रिय राजमार्ग अलपत्र



रसुवा । मैलुङ- स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघिबढ्न सकेको छैन । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले काम छोडी बिना सूचना हिँडेकाले राजमार्ग अलपत्र परेको हो ।

फल्लेटार, मैलुङ, गोम्चेत, छोकलहुदैँ स्याफ्रुबेँसीसम्मको करिब १९ किमी राजमार्ग अन्तर्गत दायाँबायाँका टेवापर्खाल अन्तर्गत सिमेन्ट एवं ग्याबिन तारजालीको पर्खाल निर्माण गर्ने र सडक सतह मिलाइ कालोपत्र गर्ने प्रमुख काम छोडी केही कामबाट पटक-पटक रु ३५ करोड भूक्तानी लिएपश्चात उक्त निर्माण कम्पनी बिना सूचना सम्पर्कविहीन भएको गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाले जनाएको छ ।

गत वर्षको फागुनबाट काम अगाडि बढ्न सकेको छैन । यही पुस मसान्तसम्म निर्माण व्यवसायी कम्पनीको काम गर्ने म्याद बाँकी रहेकाले अर्को ठेक्का पट्टाको प्रक्रिया अगाडि बढाउन कानुनी अड्चन परेको जनाइएको छ । विगत १० महिनादेखि सम्पर्कविहीन गरी बसेको कम्पनीको ठेक्का तोड्न जमानत जफतका लागि सम्बन्धित बैंक संस्थालाई पत्राचार गरिएको राजमार्ग सुधार आयोजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए ।

नुवाकोटको गल्छीदेखि रसुवाको स्याफुबेँसीसम्म निर्माण सुधार गर्नुपर्ने ६७ किमीमध्ये ३४ किमी राजमार्ग निर्माण सम्पन्न भइसकेको बताइएको छ ।

राजमार्गमा निर्माण गर्नुपर्ने २८ साना ठूला पुलमध्ये हालसम्म १८ वटाको बोलपत्र भई १३ वटा निर्माण सम्पन्न भइसकेका छन् । अन्य प्रक्रियागत चरणमा अगाडि बढिरहेको साइट इन्चार्ज इञ्जिनीयर रामविहारी चौधरीले बताउनुभयो । सम्पन्न पक्की पुलमा महेश, कोल्फु, झागर, ठूलो , बान्द्रे , गुन्द्रे , गेर्खु, फलाखु, खाल्टे त्रिशूली, सुकौरे, मैलुङको त्रिशूली, क्रसिङ र गोम्चेत छन् ।

साना खोल्सा धेरै भएकाले धेरै ठाउँमा आवश्यकता अनुसार कल्भर्ट निर्माण हुनसक्ने प्राविधिकले जानकारी दिएका छन् । निर्माणमा संलग्न कन्स्ट्रक्सनमध्ये पुल निर्माणकार्य कालिका, तुण्डी, हिण्डूङ एण्ड थोकर एवं सडक सुधारमा संलग्न कोमेक, तुण्दी र रसुवा जेभी कन्ट्रक्सनले धादिङको गल्छिदेखि रसुवाको फल्लेटारसम्मका राजमार्गमा सुधार एवं निर्माणकार्य गरिरहेको साइट इञ्चार्ज इञ्जिनीयर चौधरीले जानकारी दिए ।

नेपाल, चीन, भारत जोड्ने त्रिदेशीय व्यापारिक राजमार्गको रूपमा विकसित हुँदै गरेको सो राजमार्ग सुधार निर्माणका लागि हालसम्म मुआब्जा वितरणतर्फ ३ अर्ब १४ करोड ९० लाख र निर्माण सुधारतर्फ ५अर्ब खर्च भएको आयोजनाले जनाएको छ ।


क्लिकमान्डु