महानगरले उठायो अनामनगरको निजी जग्गामा पार्किङ गरिएका सवारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको छ ।

आइतबार महानगरपालिकाले काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ।

महानगरपालिकाले गरेको ज्यादतीको बिरुद्धमा यतिबेला सवारीसाधन चालकहरु बिरोधमा उत्रिएका छन् । उनीहरुले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरुमाथि ज्यादती गरेको बताए ।

एक सर्वसाधारण राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको भन्दै आपत्ति जनाए ।

अनामनगर क्षेत्रमा निजी जग्गामा सवारी राख्न नपाउने हो भन्दै उनले प्रश्न गरे । त्यस्तै अर्की चालकले महानगरपालिकाको ज्यादती सर्वसाधारणहरुले कहिलेसम्म सहनुपर्ने हो भन्दै आक्रोश पोखिन् ।

सिंहदरबार पूर्वीगेटमा यतिबेला सर्वसाधारण, महानगरप्रहरी र ट्राफिक प्रहरीबीच विवाद भइरहेको छ । सर्वसाधारणहरुले महानगरपालिकाले जनतामाथिको ज्यादती छोड्नपर्ने अडान लिएका छन् ।


क्लिकमान्डु