ट्यांकरको ढुवानी भाडा बढ्यो, निगमको खर्च ४० करोडले बढ्ने



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुको भाडा वृद्धि गरेको छ ।

निगमले पुस १ को निर्णय अनुसार आजदेखि लागू हुने गरि निगमको करारमा सञ्चालिन ट्यांकरको ढुवानी भाडा समायोजन गरेको जनाएको छ ।

३६ वटा गन्तव्यमा ढुवानी भाडा कम्तीमा ८ देखि १० प्रतिशतसम्म बढेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उपाध्यायले भाडा समायोजन नियमित प्रकृया भएको बताए । ‘बजारमा मूल्यमा विभिन्न चिजको लागत बढेको छ । विभिन्न सामग्री, पाट पूर्जाको मूल्य बढ्दा विगतदेखिनै भाडा समायोजन हुँदै आएको छ, त्यसैले यो अहिले मात्र भएको होइन’उनले भने ।

ट्यांकरको भाडा समायोजनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो जसमा काठमाडौं विश्विवद्यालयका मेकानिकल इन्जिनियरिङ विभाग प्रमुख प्राध्यापक डा विवेक बराल, यातायात व्यवस्था विभागका इन्जिनियर मोहन भट्टराई र निगमका कर्मचारी रहेका थिए ।

उक्त समितिले व्यवसायीले ढुवानी भाडा समायोजन गर्नुपर्ने गरि गरेको मागअनुसार निगमले भाडा बढाउनु पर्ने वा नपर्ने भन्ने विषयमा अध्ययन गरेको थियो ।

समितिले निगमलाई बुझाएको प्रतिवेदन सञ्चालक समितिले पुल्चोक इन्जिनियरिङ क्याम्पसको परामर्श सेवा विभागमा पठाएको थियो । परामर्श सेवा विभागबाट ८ देखि १० प्रतिशत मूल्य समायोजन गर्नुपर्ने गरि सुझाव आएपछि सञ्चालक समितिले सोही अनुसार निर्णय गरेको उपाध्याय बताउँछन् ।

‘व्यवसायीहरुले ४० प्रतिशतसम्म बढाउनु पर्छ भन्ने माग गरेका थिए तर हामीले आफैं भाडा बढाएका होइनौं,’ उपाध्यायले भने, ‘पुल्चोक इन्जिनियरिङ कलेजले गरेको सुझावका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको हो ।’

मूल्य समायोजनपछि ढुवानी भाडामा निगमको खर्च ४० करोड रुपैयाँले बढ्ने उपाध्याय बताउँछन् ।


क्लिकमान्डु