आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस, ३० दिनभित्र सरकार बन्ने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताए ।

यस निर्वाचनबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएको उनले जानकारी गराए । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको उनको भनाइ छ ।

आयोगले आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ ।

सो अवसरमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत उच्च अधिकारी सहभागी थिए ।

३० दिनभित्र संसद अधिवेशन आह्वान

प्रतिनिधिसभाको अन्तिम परिणाम आएको ३० दिन भित्र राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । ‘राष्ट्रपतिले प्रतिनिधिसभाको लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्ने छ’ संविधानको धारा ९३ मा भनिएको छ ।

३० दिनभित्र सरकार
त्यस्तै अब एक महिनाभित्र सरकार बन्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा ७६ को ३ ले प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

उपधारा २ मा भने प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने व्यवस्था छ ।


क्लिकमान्डु