संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था छैनः अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।
संसद सेवा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे ।

अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताए ।
देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरुलाई सम्बोधन गर्न जोड दिने उनको आश्वासन थियो । अध्यक्ष तिमिल्सिनाले सांसदहरुको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताए ।

अध्यक्ष तिमिल्सिनाले संसदको काम कारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढनुपर्ने आवश्यक्तासमेत औंल्याए । कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले संसद अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताए ।

उनले संसद सचिवालयलाई स्वायत्त निकाय बनाए पनि त्यसले जनताको सार्वभौम निकायको रुपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गरे ।


क्लिकमान्डु