विराटनगर महानगरपालिकाको कर सचेतना अभियान शुरु



मोरङ । विराटनगर महानगरपालिकाले नगरवासीको आवश्यकता पूरा गर्न र कर सङ्कलन गर्न आजदेखि कर सचेतना अभियान सुरु गरेको छ ।

महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, कर्मचारी र सञ्चारकर्मी सम्मलित टोली वडा नं ४ को ढाँटमा आजदेखि सुरु भएको अभियानमा सहभागी भए ।

महानगरप्रमुख कोइराला तथा उपप्रमुख कार्कीले सचेतना अभियानअन्तर्गत पसल, उद्योग, घर नक्सा पास, दर्ता, सम्पत्ति कर तिरेको रसिद हेरी समयमै राजस्व भुक्तान गर्न, पसल दर्ता गर्न र नवीकरण गर्न आग्रह गरे ।

सो अभियान सबै वडामा राजस्वको लक्ष्य पूरा नभएसम्म सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए।

सञ्चारकर्मीसँग कुरा गर्दै महानगरप्रमुख कोइरालाले आम्दानीको स्रोतको रुपमा रहेको राजस्व सङ्कलन कम उठेकाले यसलाई वृद्धि गरी जनताका आधारभूत आवश्यकता पूरा गर्न र विकास निर्माण कार्य पूरा गर्न अभियान सञ्चालन गरिएको बताए ।

वार्षिक एक अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यका साथ महानगरले अभियानलाई सफल बनाउन टेलिभिजन, एफएम, दैनिक, साप्ताहिक पत्रिका, अनलाइनबाट प्रचार प्रसार गर्नाका साथै माइकिङसमेत गरेको छ ।


क्लिकमान्डु