अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सत्तारुढ गठबन्धनमा सहमती



काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमत भएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा गर्न सोमबार (आज) अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेका हुन् ।

बैठकपछि संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरुले निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यक्ता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमती र सरकार्यका अघि बढनुपर्ने सन्देश दिएको र सोही अनुसार अघिबढ्ने सहमती बैठकमा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले निर्वाचनको दौरानमा गठबन्धनको केन्द्रबाट गएको निर्देशन र निर्णयहरु कतिपय निर्वाचन क्षेत्रमा कार्यान्वयन नभएको स्विकार गर्दै त्यसको उचित समीक्षा र सम्बोधन गर्दै अघि बढने निर्णय पनि गरेको छ ।

मन्त्री कार्कीको भनाइ जस्ताको त्यस्तै

मुलुकका सामू विद्यमान चुनौतिहरुको सामना गर्नुपर्ने आवश्यक्ताले ‘हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यक्ता र सान्दर्भिकर्तालाई पुनः पुष्टि गरेको छ । मुलुकमा सामू विद्यमान चुनौतिहरुको सामना गर्नुपर्ने आवश्यक्ताले पनि यो गठबन्धनलाई निरन्तरता दिन जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमती र सहकार्यका साथ मिलेर अघि बढनुपर्ने स्पष्ट सन्देश दिएको छ । निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनको दौरानमा देखिएका ती असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिनेछ । गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति आभारी छौं । आम मतदाताको भरोसा र भावनालार्ई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अगाडि बढने प्रतिवद्धता व्यक्त गर्दछौं । निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देशसमेतलाई हृदयङग्म गर्दै हामी गम्भिर समिक्षाका साथ अघि बढनेछौं । निर्वाचनमा सहभागी सम्पूर्ण मतदातालाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । साथै शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा सहभागी राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षकलगायत सबैलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।


क्लिकमान्डु