गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा शुरु, सरकार गठनबारे छलफल हुने



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही ढिला गरि शुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले सत्ता गठबन्धनको बैठक शुरु भएको जनाकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत दोस्रो तहका नेताहरु उपस्थित छन् ।

बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए । गठबन्धनको बैठकमा नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ ।

पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् ।

यस्तै एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् । यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएका छन् ।


क्लिकमान्डु