घरबेटीले होटल तोडफोड गरेको क्वीन्स होटल सञ्चालकको आरोप, क्षतिपूर्तिको माग



काठमाडौं । काठमाडौंको अनामनगरस्थित क्वीन्स किचन प्रालिका सञ्चालक धिरज सापकोटाले घरबेटी शैलेन्द्र गुरागाँई र उनका छोरा श्रीजेसले आफ्नो होलट तोडफोड गरेको भन्दै तत्काल उनीहरुलाई पक्राउ गरी क्षतिपुर्तिसहित न्याय दिन माग गरेका छन् ।

गुरागाँई बाबु–छोरा मिलेर कानुनी राज्यको उपहास गरेको र अदालतको आदेशलाई अवहेलना गर्दै आफूमाथि अन्याय गरेको होटल सञ्चालक सापकोटाको भनाइ छ । अदालतले २०७९ भदौ ३० गते जारी गरेको अन्तरिम आदेशलाई अवहेलना गरी घरबेटीले कानुनी राज्यको उपहास गरेको उनको दाबी छ ।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूहरु न्यायको लागि मिडियामा आएको बताए । सापकोटोले भने, ‘घरबेटी शैलेन्द्र गुरागाँई र श्रीजेस गुरागाँईले उनीहरुको कम्पनीको कर्मचारी यज्ञ सुवेदीको समेत संलग्नतामा हाम्रो करोडौंको सामाग्री तोडफोड गरेका हुन् । कानूनी राज्यमा यस्तो ज्यादती गर्न पाइन्छ ?’

उनले घरबेटीले विभिन्न व्यक्तिहरुको प्रयोग गरेर होटल तोडफोड गरी मूल्यवान सामाग्रीहरु चोरी गरेकोसमेत आरोप लगाए । उनले भने,‘कर्मचारीका सामाग्री र डकुमेन्ट बेपत्ता पारिएको छ, महिला कर्मचारीमाथि अभद्र व्यवहार गरिएको छ ।’ घरबेटी शैलेन्द्र र श्रीजेसको नाममा सिंहदरबार प्रहरी वृत्तबाट पक्राउ पुर्जी जारी हुँदापनि उनीहरु अहिलेसम्म पक्राउ पर्न नसकेको भन्दै उनले आपक्ति जनाए ।

उनले भने,‘उनीहरु लुक्दै भाग्दै हिँडेका छन् ।’ ६० प्रतिशत सामान हराएको र धेरै सामान तोडफोड भएको उनको आरोप छ । उनले कसैले ती दुई बाबुछोरालाई देखेमा सूचना दिन पनि सम्पुर्णमा आग्रह गरे ।

होटलमा कार्यरत एकाउन्टेन्ट टिका शर्माले घरबेटीले एउटै व्यक्तिहरुलाई समूह–समूह बनाएर मानिसहरु होटलमा पठाएर धम्काउने गरेको सुनाइन् ।

उनले भनिन्,‘अदालतको आदेशपछि हामी होटलभित्र जाँदा अवस्था हेर्न नसकिने थियो । उनीहरुले विभिन्न किसिमका व्यक्तिहरु पठाएर खाना खाने तर बिल पे गर्नु भन्दा अमानविय व्यवहार गर्ने गर्थे ।’ होटलकी कर्मचारी उषा दाहालले घरबेटीले होटल र त्यहाँ कार्यरत कमर्चारीमाथि नराम्रो व्यवहार गरेको भन्दै सबै मिलेर आफूहरुलाई न्याय दिन आग्रह गरिन् ।


क्लिकमान्डु