व्यवसायीको माग सम्बोधन गर्यो राष्ट्र बैंकले, स्प्रेड दर ४ प्रतिशतमा झार्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गरेको छ । केन्द्रिय बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै स्प्रेड दर (बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर) घटाएको हो ।

यसअघि बैंकहरुले ४.४० प्रतिशत स्प्रेडदरमा काम गर्दै आएका थिए । राष्ट्र बैंकले स्प्रेडदर ४ प्रतिशत कायम गरेको छ । यसको अर्थ के हो भने बैंकहरुले तपाईंले निक्षेप राख्दा दिने ब्याजदरभन्दा तपाईंले ऋण लिँदा ४ प्रतिशत बढी मात्रै ब्याजदर असूल गर्न पाउने छन् । व्यवसायीहरुले स्प्रेड दर ३ प्रतिशत कायम गर्नुपर्ने माग गर्दै आएका थिए ।

त्यस्तै, विकास बैंकको स्प्रेडदर पनि ५ प्रतिशतबाट घटाएर ४.६ प्रतिशत कायम गरेको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने समीक्षामा उल्लेख छ ।

राष्ट्र बैंकले स्प्रेड र प्रिमियममा गरेको कडाइले बैंकहरुको नाफा घट्ने भएको छ । लगातार घट्दै गएको सम्पत्तिमाथिको प्रतिफल थप घट्ने देखिएको छ ।


क्लिकमान्डु