नबलपरासी पश्चिम-१: एमालेले घण्टीमा भोट हाल्दा चौधरी र त्रिपाठी दुबैको हार निश्चित, गन्नबाँकी भन्दा घण्टीको मतान्तर धेरै



काठमाडौं । पश्चिम नवलपरासीको १ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का महेन्द्र सेन ठकुरीको जित सुनिश्चित भएको छ । ठकुरीले कांग्रेसका उम्मेद्वार बिनोद चौधरीलाई झिनो मतान्तरले जित्ने निश्चित भएको हो ।

निर्वाचन आयोगको पछिल्लो परिणाम अनुसार मतगणनाको पछिल्लो परिणाम अनुसार घण्टीका ठकुरीले ३९५९ मत ल्याएका छन् भने रुखका चौधरीले ३८७० मत ल्याएका छन् । अहिलेसम्म चौधरीभन्दा ठकुरी ८९ मतले अघि देखिएका छन् । अब गणना हुन बाँकी सबै मत चौधरीलाई जाने हो भने पनि ठकुरीले नै चुनाव जित्छन् ।

यो निर्वाचन क्षेत्रमा १३ हजार १ सय ४० मत खसेको थियो । जसमध्ये ६८७ मत बदर भएको थियो । कुल सदर मत १२४५३ मत छ । हालसम्म १२४२७ मतको नतिजा आइसकेको छ । जम्मा गणना हुन बाँकी मत २६ मात्रै रहेको छ । गन्नबाँकी मत भन्दा बढीको मतान्तरले ठकुरी अगाडि छन् ।

एमालेको समर्थन रहेका राष्ट्रिय प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी तेस्रो स्थानमा छन् ।

निर्वाचन आयोगले उपलब्ध गराएको मतगणनाको पछिल्लो परिणाम अनुसार त्रिपाठीको कोदालो बोकेको किसानमा जम्मा २९४१ मत पाएको छ ।

एमालेले त्रिपाठीलाई समर्थन गरेको थियो । यसअघि एमालेकै समर्थनमा एमालेकै चुनाव चिन्ह सुर्य लिएर उठेका त्रिपाठी यसपटक भने कोदालो बोकेको किसान चिन्हमा चुनाव उठेका थिए । जसकारण एमालेका मतदाताहरुले त्रिपाठीको चुनाव चिन्हमा भोट नहालेर राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीमा भोट हाल्दा परिणाम घण्टीको पोल्टामा गएको हो ।

त्यस्तै, राप्रपाका भोजराज ढकालले ६६४ मत ल्याएका छन् भने जनमत पार्टीका गुलावप्रसाद चौधरीले ४४३ मत ल्याएका छन् ।


क्लिकमान्डु